
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रभावकारी रूपमा सञ्चालन गर्न कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल अनिवार्य रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले शैक्षिक कार्यक्रम, विशेषगरी एमबीबीएस अध्ययन सुरु गर्न अस्पतालको क्षमता विस्तार पहिलो सर्त भएको उल्लेख गरेका हुन्।

पौडेलका अनुसार प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालसँग गाभी स्वास्थ्य मन्त्रालयअन्तर्गतको जनशक्ति परिचालन गरे न्यून लागतमै ३०० शय्याको अस्पताल सञ्चालन गर्न सकिनेछ। यसले विश्वविद्यालय सञ्चालनको प्रक्रिया समेत सहज हुने उनको भनाइ छ।
उनले आफू स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रहँदा नै गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्न आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्रोत सुनिश्चित गरिएको स्मरण गराए। त्यसबेला केही पक्षले स्थानीयवासीको नाममा वास्तविकता नबुझी विरोध गरेकाले योजना कार्यान्वयनमा अवरोध पुगेको उनको दाबी छ। यद्यपि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा भइसकेको उनले उल्लेख गरेका छन्।


पौडेलले हाल धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीको आन्दोलन पनि विश्वविद्यालय सुदृढीकरणकै पक्षमा रहेको बताएका छन्। तर विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको स्तरोन्नति र सञ्चालन प्रक्रियामा फेरि अवरोध सिर्जना गर्ने प्रयास भइरहेको उनको आरोप छ।
उनले गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र दीर्घकालीन समाधान भएको बताएका छन्। यस्तो कदमबिनै विश्वविद्यालयको औचित्य पुष्टि नहुने र एमबीबीएससहितका शैक्षिक कार्यक्रम सुरु गर्न पनि सम्भव नहुने उनको निष्कर्ष छ।

































