
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम सत्रको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंह रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सिंहलाई शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो। अनुसन्धानका क्रममा ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि त्रिविको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रहरीले यस प्रकरणमा संलग्न अन्य व्यक्तिको पहिचान र सम्भावित संजालबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
































