
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका लाखौं नागरिकको तीन दशक लामो संघर्ष, त्याग र जनदबाबको प्रतिफल भएको भन्दै संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले विश्वविद्यालयलाई राजनीतिक विवादको केन्द्र नबनाई सञ्चालन प्रक्रियालाई अघि बढाउन सबै पक्षसँग आग्रह गरेका छन्।
उनले विश्वविद्यालय स्थापना कुनै एक व्यक्ति वा दलको उपलब्धि नभई सम्पूर्ण सुदूरपश्चिमवासीको साझा आन्दोलनको परिणाम भएको उल्लेख गर्दै आन्दोलनमा साथ दिने नागरिक, विभिन्न सामाजिक संस्था तथा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि महत्त्वपूर्ण निर्णय गर्ने नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्।
कुँवरका अनुसार विश्वविद्यालय स्थापना गर्न विभिन्न चरणमा आन्दोलन, खबरदारी र जनदबाब सिर्जना गरिएको थियो। साझा उद्देश्यका लागि सबै पक्ष एकजुट भएकै कारण विश्वविद्यालय स्थापना सम्भव भएको उनको भनाइ छ। तर पछिल्लो समय विश्वविद्यालय सञ्चालन प्रक्रियामै विभिन्न बहानामा अवरोध सिर्जना हुने संकेत देखिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विषय उठाएर अनशन थालेको सन्दर्भ उल्लेख गर्दै कुँवरले स्वास्थ्य क्षेत्रमा डा. केसीको योगदानको सम्मान गरे पनि विश्वविद्यालयसम्बन्धी उहाँका पछिल्ला अभिव्यक्तिप्रति संघर्ष समितिको असहमति रहेको स्पष्ट पारे। विरोधपछि सामाजिक सञ्जालमा आएको आलोचनालाई आत्मसात गरेको बताउँदै उनले समितिको उद्देश्य विश्वविद्यालय सञ्चालन रोक्नु नभई सञ्चालन सुनिश्चित गर्नु रहेको दाबी गरे।
कुँवरले विश्वविद्यालय ऐन–२०८२ अनुसार खुला प्रतिस्पर्धाबाट नियुक्त पदाधिकारीलाई सरकारले किन बर्खास्त गर्यो भन्ने प्रश्न उठाउँदै त्यसबेला सरोकारवालाबाट पर्याप्त आवाज नउठेको टिप्पणी गरेका छन्। पदाधिकारी हटाइएपछि शिक्षण अस्पताल सञ्चालन तथा एमबीबीएससहितका शैक्षिक कार्यक्रम समयमै सञ्चालन हुने सुनिश्चितता कसले गर्ने भन्ने प्रश्नसमेत उनले गरेका छन्।
विश्वविद्यालय सञ्चालन प्रक्रियामा कानुनी व्यवस्था, संस्थागत स्थायित्व र जनअपेक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कुँवरले सुदूरपश्चिमवासीलाई पुनः एकजुट हुन आह्वान गरेका छन्। विश्वविद्यालयलाई राजनीतिक स्वार्थभन्दा माथि राख्दै जनताको दशकौँ पुरानो सपनालाई साकार पार्न सरकारमाथि आवश्यक दबाब सिर्जना गर्न उनले आग्रह गरेका छन्।
धर्मसिंह कुँवर,
सचिव,
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समिति, कैलाली


































