
पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन्। घटनाबारे पाकिस्तानी अधिकारीहरूले समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमका अनुसार चिनार चोक हुँदै मकबूल भट शहीद चोकतर्फ अघि बढिरहेको प्रदर्शनकारीको काफिलामाथि सुरक्षा बलले गोली चलाएको हो। मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिरसमेत रहेको उनको दाबी छ।

आन्दोलनकारी पक्षले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको आरोप लगाउँदै सञ्चार अवरोधका कारण प्रदर्शनकारीहरू पैदल यात्रा गर्दै तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजना रहेको जनाएको छ। उनीहरूले विदेशमा रहेका कश्मीरी समुदायलाई पाकिस्तानी दूतावास, संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष घटनाको विरोध गर्नसमेत आग्रह गरेका छन्।

अर्का प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डासहित शान्तिपूर्ण रूपमा अघि बढिरहेका बेला बल प्रयोग गरिएको दाबी गरेका छन्। यद्यपि गोली प्रहार, १४ जनाको मृत्यु तथा अन्य आरोपहरू आन्दोलनकारी पक्षको दाबीमा आधारित छन् र त्यसबारे पाकिस्तानी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।































