
इजरायल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको द्विदलीय राजनीतिक समर्थन पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको विश्लेषण सार्वजनिक भएको छ। विशेषगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक रणनीति र गाजा युद्धको प्रभावका कारण अमेरिकी जनमत तथा राजनीतिक वृत्तमा इजरायलप्रतिको धारणा उल्लेखनीय रूपमा बदलिएको दाबी गरिएको छ।

हालै सार्वजनिक भएको इकोनोमिस्ट/युगोभ सर्वेक्षणअनुसार झन्डै आधा अमेरिकीले नेतान्याहुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नुपर्ने धारणा व्यक्त गरेका छन् भने उल्लेख्य संख्याले उनलाई गाजामा युद्ध अपराध गरेको विश्वास गरेका छन्। विश्लेषणले यो परिवर्तन सन् २०२३ को गाजा युद्धबाट मात्र नभई नेतान्याहुले वर्षौंदेखि अपनाएको राजनीतिक रणनीतिको परिणाम भएको उल्लेख गरेको छ।
सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको असहमतिकाबीच अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने निर्णय र त्यसपछि रिपब्लिकन पक्षसँग बढ्दो निकटताले इजरायलप्रतिको परम्परागत द्विदलीय समर्थन कमजोर बनाएको विश्लेषणमा उल्लेख छ। डोनाल्ड ट्रम्प प्रशासनबाट इजरायलले महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल गरे पनि त्यसलाई दीर्घकालीन रणनीतिक सफलतामा रूपान्तरण गर्न नसकिएको निष्कर्ष निकालिएको छ।




गाजा युद्धका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले निरन्तर समर्थन जनाए पनि नेतान्याहुले वासिङ्टनसँग सार्वजनिक मतभेद देखाएको र त्यसले सम्बन्धमा थप तनाव सिर्जना गरेको विश्लेषणमा उल्लेख छ। डेमोक्र्याटिक पार्टीभित्र इजरायललाई दिइने सैन्य सहयोगमा सर्त राख्नुपर्ने आवाज बढ्दै गएको तथा युवा पुस्तामा पनि इजरायलप्रतिको दृष्टिकोण परिवर्तन भइरहेको देखाइएको छ।
विश्लेषणले सैन्य शक्ति मात्र पर्याप्त नहुने, दीर्घकालीन साझेदारीका लागि राजनीतिक वैधता, विश्वास र द्विदलीय समर्थन जोगाउनुपर्ने निष्कर्ष निकालेको छ। नेतान्याहुको वर्तमान रणनीतिले अमेरिका–इजरायल सम्बन्धको परम्परागत आधार कमजोर बनाएको र त्यसको प्रभाव भविष्यमा अझ गहिरिन सक्ने चेतावनी पनि दिइएको छ।



































