बहुक्षेत्रीय समन्वयबाट नगर स्वास्थ्य सुशासन सुदृढ गर्न जोड, सबै पालिकालाई प्रभावकारी स्वास्थ्य सेवामा सक्रिय बन्न आग्रह

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको धनगढीमा नेपाल नगरपालिका संघ, जिआइजेड (GIZ) र नेपाल नगरपालिका संघ (MUAN) को सहकार्यमा “बहुक्षेत्रीय समन्वयमार्फत नगर स्वास्थ्य सुशासन सुदृढीकरण” विषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल नगरपालिका संघका प्रदेश सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षता रहेको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव बै्कुण्ठ अर्याल, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय सरकारमार्फत प्रवाह भइरहेको स्वास्थ्य सेवाको वर्तमान अवस्था, त्यसको प्रभावकारिता तथा आगामी सुधारका उपायबारे गम्भीर छलफल आवश्यक रहेको बताए। उनले सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा समान रूपमा उपलब्ध छ वा छैन भन्ने विषयको मूल्याङ्कन गर्दै नागरिकसम्म गुणस्तरीय र सहज स्वास्थ्य सेवा पुर्‍याउने उपाय खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे।

कार्यक्रममा विभिन्न नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विगतमा गरेका सकारात्मक अभ्यास, उपलब्धि तथा कार्यान्वयनका क्रममा भोग्नुपरेका चुनौतीहरू प्रस्तुत गरेका थिए। विशेषगरी बाजुरा, अछाम, बझाङलगायत पहाडी जिल्लामा प्रसूतिको समयमा समयमै उपचार नपाउँदा तथा पर्याप्त पोषणको अभावका कारण महिलाले अकालमै ज्यान गुमाउनुपरेका घटनाबारे गम्भीर छलफल भएको थियो। मातृ स्वास्थ्य सुधार, बहुक्षेत्रीय समन्वय र प्रभावकारी सेवा प्रवाहलाई अझ सुदृढ बनाउन सहभागीहरूले जोड दिएका थिए।

जर्मन विकास संस्था (GIZ) को प्राविधिक सहयोग, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल नगरपालिका संघ (MuAN) को साझेदारीमा सञ्चालन भइरहेको स्वास्थ्य क्षेत्र रणनीतिमा सहयोग (S2HSS-II) तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (S2GESI) परियोजनाले स्थानीय तहको स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन जोड दिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तीन नगरपालिकामा कार्यान्वयन भइरहेको परियोजनाले स्वास्थ्य शासन, नीति तथा योजना निर्माण, तथ्यांकमा आधारित व्यवस्थापन, नागरिक सहभागिता, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र बहु-क्षेत्रीय समन्वयमार्फत गुणस्तरीय तथा दिगो स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सचिव बैकुण्ठ अर्यालले अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाह हुन नसक्नुमा दक्ष जनशक्तिको अभाव, तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुनु तथा व्यवस्थापनका चुनौती मुख्य कारण रहेको बताए। उनले स्वास्थ्य संस्था थप्नेभन्दा पनि नागरिकलाई रोग लाग्न नदिने, जनचेतना अभिवृद्धि गर्ने र निरोगी जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए। साथै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै स्वास्थ्य सुशासनलाई व्यवहारमै प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

आजको कार्यक्रमको अध्यक्षता गर्दै गरेका गोदावारी नगरपालीका नगरप्रमुख तथा नेपाल नगरपालिका संघका प्रदेश सभापति बिरेन्द्र भट्टले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले प्रत्येक स्थानीय तहले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले सबै पालिकाले आ–आफ्नो क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे। स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उनले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन स्थानीय सरकारहरू थप सक्रिय हुनुपर्ने धारणा राखे।

स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, समावेशी र दिगो बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वयलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्वास्थ्य शासन सुधार, प्रमाणमा आधारित योजना निर्माण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता नीति संवाद र अनुभव आदानप्रदानका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन नेपाल नगरपालिका संघकी कार्यक्रम संयोजक सुनिता सुवेदीले गरेकी थिइन्।