
अध्ययनका लागि अमेरिका पुगेका नेपाली विद्यार्थी सुशान्त पन्त विगत केही दिनदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएका छन्। अमेरिकाको मिसौरी राज्यस्थित सेन्ट लुइस सहरको वेबस्टर विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय पन्त गत साउन १० गते रातिदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।

उनका बुबा प्रदीप पन्तका अनुसार सुशान्त सन् २०२३ मा अध्ययनका लागि अमेरिका पुगेका थिए। अध्ययनसँगै काम गर्दै आएका उनी साउन १० गते राति करिब १०:४५ बजे साउथ ग्यास स्टेसनमा काम सकेर कोठातर्फ फर्किने क्रममा अचानक सम्पर्कविहीन भएका हुन्।
सुशान्त बस्दै आएको अपार्टमेन्टमा नफर्किएपछि परिवारले मोबाइल तथा अन्य माध्यमबाट खोजी गरे पनि सम्पर्क हुन सकेको छैन। त्यसपछि स्थानीय प्रहरीमा समेत खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ।

बुबा प्रदीप पन्तले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई अमेरिकी पक्षसँग समन्वय गरी छोराको सकुशल खोजी गरिदिन आग्रह गरेका छन्।

सुशान्त पन्त वेबस्टर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। उनको खोजीका लागि परिवारले नेपाली समुदाय, आफन्त र सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। कुनै पनि जानकारी प्राप्त भएमा परिवार वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ। विदेशमा अध्ययनरत नेपाली विद्यार्थी अचानक बेपत्ता भएपछि उनको अवस्था पत्ता लगाउन परिवार र शुभेच्छुकहरूले तत्काल पहलको माग गरेका छन्।
सुशान्त पन्तको व्यक्तिगत विवरण
- नाम: सुशान्त पन्त (Sushant Pant)
- उमेर: २७ वर्ष
- जन्ममिति: २ जुलाई २०००
- अध्ययन संस्था: वेबस्टर विश्वविद्यालय (Webster University), अमेरिका
- राज्य: मिसौरी (Missouri), USA
- सहर: सेन्ट लुइस (St. Louis)
- पासपोर्ट नम्बर: PA1700502
- ठेगाना: 7077 Nottingham Avenue, St. Louis, MO 63119
Apartment No. 203, USA































