रानाथारू बस्तीमा साउनको रौनक : तिजअघि नै डोलामा झुम्दै महिला–युवा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरस्थित रानाथारू बस्तीमा अहिले सावन डोलाको रौनक छाएको छ। रानाथारू समुदायको महत्वपूर्ण पर्व तिज नजिकिएसँगै गाउँ–गाउँमा रङ्गीचङ्गी डोला बनाइएपछि बस्तीहरूमा चहलपहल बढेको हो।
रानाथारू समुदायमा तिज आउनुभन्दा करिब १५ दिनअघि नै डोला बनाउने र सामूहिक रूपमा खेल्ने परम्परा छ। यस अवसरमा महिलाहरू परम्परागत वेशभूषामा सजिएर सामूहिक रूपमा गीत गाउँदै डोला खेल्ने र रमाउने गर्छन्। विशेषगरी साँझपख डोलामा झुल्ने महिलाको सहभागिता उल्लेख्य हुने गरेको धनगढी उपमहानगरपालिका–१०, घुइयाँघाटका रामदिन रानाले बताउनुभयो।
“विशेष गरेर साँझपख महिलाले डोला झुल्दै रमाउँछन्,” उहाँले भन्नुभयो, “अब तिजसम्मै यो क्रम जारी रहनेछ।”
रानाथारू समुदायले दसैँ–तिहारभन्दा तिजलाई विशेष महत्व दिँदै आएको छ। समुदायका महिलाले आफ्ना भाइभतिजाको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने र तिज मनाउने चलन छ। तिजकै अवसरमा डोला खेल्ने परम्पराले सामूहिकता र सांस्कृतिक पहिचानलाई समेत जोड्दै आएको छ।
सावनको डोला प्रायः गाउँका भलमन्साको घर वा सार्वजनिक स्थानमा बनाइन्छ। महिलाहरू सामूहिक रूपमा डोलामा बस्ने भएकाले बलिया काठका खम्बा प्रयोग गरिन्छ। चारवटा खम्बा, काठको फ्ल्याक र बलियो डोरी प्रयोग गरी डोला तयार पार्ने गरिन्छ।
डोलालाई रङ्गीचङ्गी कपडा तथा ध्वजापताकाले सजाउने चलन छ। अहिले रानाथारू बस्तीमा महिला, बालबालिका र युवासमेत डोलामा रमाउँदै आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राखिरहेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital