
अत्तरियाः कैलाली–कञ्चनपुरका रानाथारू बस्तीमा तीज नजिकिएसँगै सावन डोलाको रौनक बढेको छ। गाउँ–गाउँमा रङ्गीचङ्गी डोला निर्माण गरी महिला, युवा तथा बालबालिका सामूहिक रूपमा रमाउन थालेपछि बस्तीमा चहलपहलसमेत बढेको हो।

यसैक्रममा राना थारू समाज, सेहरीको आयोजनामा कैलालीको गोदावरी नगरपालिका वडा न ९ को सेहरी भलमन्सा घरमा राना थारू तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीक बनेको भलमन्सा घरलाई विशेष रूपमा सजाएर कार्यक्रम आयोजना गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रानाथारू समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचान संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले संस्कृति पुस्तान्तरण गर्दै आपसी सद्भाव, एकता र भाइचारा अझ मजबुत बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।


नगर प्रमुख भट्टले तीज विशेष कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सम्पूर्ण रानाथारू समुदायमा शुभकामना व्यक्त गर्नुभयो।
रानाथारू समुदायमा तीज आउनुभन्दा करिब १५ दिनअघि नै सावन डोला बनाउने र सामूहिक रूपमा खेल्ने परम्परा रहेको छ। महिलाहरू परम्परागत वेशभूषामा सजिएर गीत गाउँदै विशेषगरी साँझपख डोलामा झुल्ने गर्छन्।
गाउँका भलमन्सा घर वा सार्वजनिक स्थानमा बलिया काठका खम्बा, काठको फ्ल्याक र डोरी प्रयोग गरी डोला बनाइन्छ। रङ्गीचङ्गी कपडा तथा ध्वजापताकाले सजाइएका डोलाले अहिले रानाथारू बस्तीको सांस्कृतिक रौनक थप बढाएका छन्। यस परम्पराले मनोरञ्जनसँगै समुदायको मौलिक पहिचान र सांस्कृतिक निरन्तरतालाई समेत जीवन्त राख्दै आएको छ।





























