आयुर्वेद चिकित्सालयः सेवा र सेवाग्राही बढे, पूर्वाधार र जनशक्ति थपिएनन्, सरकारी प्राथमिकता भने अझै बढेन

Image
Nisarga Hospital

धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयमा करोडौँ लगानीमा बनेको ५० शय्याको संरचना छ, आधुनिक उपचारका लागि लिफ्टदेखि प्रयोगशालासम्मका पूर्वाधार छन् । तर पर्याप्त बजेट, जनशक्ति र व्यवस्थापकीय प्राथमिकताको अभावमा अस्पतालले आफ्नै क्षमता उपयोग गर्न सकेको छैन। बिरामीका लागि अत्यावश्यक भुइँतलाको शौचालयसमेत एक वर्षसम्म ताल्चाबन्दी हुनु यसको मार्मिक उदाहरण हो।

CP Hospital Dhangadhi

भुइँतलाको शौचालय बिग्रिएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामीसमेत भर्‍याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए। पुँजीगत बजेट जम्मा पाँच लाख रुपैयाँ रहेकाले सामान्य मर्मतसम्भारसमेत तत्काल गर्न नसकिएको अस्पताल व्यवस्थापनले जनाएको छ। आन्तरिक स्रोत जुटाएर एक वर्षपछि शौचालय सञ्चालनमा आए पनि पाँच वर्षअघि जडान भएको लिफ्ट अझै सञ्चालनमा आउन सकेको छैन।

धनगढी–१३ राजपुरस्थित चिकित्सालयमा ५० शय्या सञ्चालन गर्ने संरचना भए पनि हाल बढीमा ३० शय्याबाट सेवा दिनुपर्ने अवस्था छ। नयाँ संगठन तथा व्यवस्थापन संरचना स्वीकृत नहुँदा आवश्यक जनशक्ति थपिन सकेको छैन। तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालयबाट आएका छ स्थायी र २७ करार कर्मचारीकै भरमा सेवा सञ्चालन भइरहेको छ । एमडी तहका विशेषज्ञ चिकित्सक एक जना मात्र छन्।

nawajiwan
Attariya Hospital

विडम्बना के छ भने समस्या बढिरहँदा सेवाप्रतिको नागरिक आकर्षण भने तीव्र छ। आव २०८१/८२ मा ३५ हजार ६८१ जनाले सेवा लिएकोमा २०८२/८३ मा यो संख्या बढेर ४८ हजार १६५ पुगेको छ। नयाँ सेवाग्राही मात्रै ४१.४ प्रतिशतले बढेका छन्। स्वर्णविन्दु प्राशन, अग्निकर्म, मात्राबस्ती, कटिबस्ती, पञ्चकर्म, फिजियोथेरापीलगायत सेवाप्रति पनि आकर्षण बढेको छ।

चिकित्सालयले ३२ प्रकारका जडीबुटी प्रयोग गरी ११ प्रकारका आयुर्वेद औषधि उत्पादन गरेको छ भने ७६ लाख चार हजार रुपैयाँभन्दा बढीका औषधि खरिदसमेत गरेको छ। निःशुल्क औषधि वितरण पाउने सेवाग्राही पनि १९.३ प्रतिशतले बढेका छन्।

नागरिकको भरोसा बढ्दै जाँदा राज्यको लगानी भने पाँच लाखको पुँजीगत बजेटमै सीमित हुनु गम्भीर विरोधाभास हो। ५० शय्याको संरचना पूर्ण क्षमतामा सञ्चालन गर्न नयाँ संगठन संरचना, पर्याप्त जनशक्ति, नियमित मर्मत बजेट र निर्माण भइसकेका पूर्वाधार तत्काल प्रयोगमा ल्याउनुपर्ने देखिन्छ। त्यसो हुन सके मात्रै तयार अस्पतालले कागजमा होइन, व्यवहारमै सुदूरपश्चिमका नागरिकलाई पूर्ण स्वास्थ्य सेवा दिन सक्नेछ।