
इरानसँग बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिएका छन्। न्युयोर्कमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने दाबी गरेका हुन्।

विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलडमरूमध्यमा पछिल्लो समय तनाव बढ्दै गएको छ। जलमार्गमा जहाजको आवतजावत प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति तथा इन्धनको मूल्यमा असर पर्नसक्ने चिन्ता बढेको छ।
ट्रम्पले यसअघि पनि हर्मुजमा अमेरिकी नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी नौसेनाको नाकाबन्दीलाई ‘फलामको पर्खाल’को संज्ञा दिएका थिए। अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी जारी राख्दै तेहरानमाथि थप आर्थिक दबाब बढाउने तयारी गरेको जनाएको छ।


ट्रम्पको अभिव्यक्तिप्रति इरानले भने कडा आपत्ति जनाएको छ। इरानी उपविदेशमन्त्री काजेम गरीबाबादीले हर्मुज जलडमरूमध्य इरानकै नियन्त्रणमा रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले हर्मुज इरानको थियो, इरानको हो र इरानकै रहने बताएका छन्।
अमेरिका र इरानबीचको बढ्दो टकरावले हर्मुज क्षेत्रमा जहाज आवतजावत, तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई लिएर थप अन्योल सिर्जना गरेको छ।































