
भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार पानामाको झण्डा बोकेको ‘एमभी ओसन विनर’ मालवाहक जहाज डुबेको छ। जहाजमा सवार २४ जनामध्ये दुई जनाको उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जहाजमा २० चिनियाँ, तीन म्यान्मारका र एक बंगलादेशी नागरिकसहित २४ सदस्यीय चालक दल सवार थियो। उद्धार गरिएका दुई जनालाई लाइफर्याफ्टबाट सुरक्षित रूपमा निकालिएको बताइएको छ।
उक्त जहाज ओडिशाको पारादीप बन्दरगाहबाट फलाम बोकेर सिंगापुरतर्फ जाँदै थियो। जहाज अगस्ट २० को राति पारादीपबाट प्रस्थान गरेको थियो। समुद्रमा केही समयपछि जहाजसँग सम्पर्क विच्छेद भएपछि दुर्घटनाबारे जानकारी प्राप्त भएको थियो।


घटनालगत्तै भारतीय तटरक्षक बल र नौसेनाले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेका छन्। उद्धार कार्यमा सहयोगका लागि घटनास्थल आसपास रहेका अन्य जलपोतलाई समेत सूचित गरिएको छ।
जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। बेपत्ता चालक दलका सदस्यको खोजी तथा उद्धारका लागि भारतीय सुरक्षा निकायले समुद्री क्षेत्रमा अभियान तीव्र बनाएका छन्।































