अमेरिका–इरान तनाव चर्किँदै : आर्थिक दबाब, तेल निर्यातमा गिरावट र वार्ताको प्रयास तीव्र

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ बन्दै गएको दाबी गरेका छन्। अमेरिकाले तेहरानमाथि नयाँ आर्थिक दबाब अभियान अघि बढाइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई सहयोग गर्ने देशहरू विश्वव्यापी रूपमा बहिष्कृत हुन सक्ने चेतावनी दिँदै आर्थिक सङ्कट सुरु भएको घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

बेसेन्टले अमेरिकाले इरानको सैन्य क्षमता र अधिकांश सैन्य कारखाना ध्वस्त पारेको तथा परमाणु कार्यक्रम विफल बनाएको दाबी गरेका छन्। तर इरानले अमेरिकी दाबीको कडा प्रतिवाद गरेको छ। उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले सैन्य कारबाहीबाट आर्थिक दबाबतर्फ अमेरिका मोडिनु नै उसको असफलताको प्रमाण भएको बताएका छन्।

अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गरेपछि हर्मुज जलसन्धि विश्वको प्रमुख चासो बनेको छ। इरानले जलसन्धिमा नाकाबन्दी कायम राख्दा विश्वव्यापी तेल आपूर्ति प्रभावित हुनुका साथै मुद्रास्फीति बढेको बताइएको छ। केप्लरका अनुसार युद्धअघि दैनिक करिब २० लाख ब्यारेल तेल निर्यात गर्ने इरानको निर्यात अगस्टको मध्यसम्म घटेर करिब चार लाख ब्यारेलमा सीमित भएको थियो।

nawajiwan
Attariya Hospital

इरान लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ। सन् २०१५ को परमाणु सम्झौतापछि केही समय प्रतिबन्ध खुकुलो भए पनि ट्रम्पले पछि सम्झौताबाट अमेरिका अलग गर्दै ‘अधिकतम दबाब’ अभियान अघि बढाएका थिए। प्रतिबन्धका बाबजुद इरानले चीनतर्फ ठूलो मात्रामा तेल निर्यात गर्दै आएको छ।

आर्थिक संकटका कारण इरानी सर्वसाधारणको अवस्था थप कठिन बनेको छ। मुद्रास्फीति, बेरोजगारी र जीविकोपार्जनको समस्याबीच सरकारविरोधी प्रदर्शनसमेत भएका छन्। राष्ट्रपति मसूद पेजेस्कियानले देशमा व्यापक समस्या रहेको स्वीकार गर्दै समाधानका लागि प्रयास भइरहेको बताएका छन्।

यसैबीच युद्ध अन्त्यका लागि पाकिस्तान र ओमानले कूटनीतिक पहल थालेका छन्। पाकिस्तानका सेना प्रमुख र ओमानका परराष्ट्रमन्त्रीको इरान भ्रमणमार्फत वार्ता अघि बढाउने प्रयास भइरहेको छ। करिब छ महिनादेखि जारी तनावबीच अमेरिका आर्थिक प्रतिबन्धलाई प्राथमिकता दिइरहेको छ भने इरानले त्यसलाई अमेरिकी सैन्य अभियानको असफलताको संकेत भन्दै प्रतिवाद गरिरहेको छ।