भोटेकोशी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन, परिवारजनमा बढ्यो चिन्ता

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा कार्यरत आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाढी प्रभावित क्षेत्रमा रहेका तथा परिवारको सम्पर्कमा नआएका व्यक्तिको विवरण उपलब्ध गराउन बुधबार साँझ सार्वजनिक सूचना जारी गरेपछि आफन्तहरू प्रहरी कार्यालय पुगेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार हालसम्म २४ जनाका आफन्तले खोजीका लागि प्रहरीसँग सम्पर्क गरेका छन्।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा भीमदत्तका ६, बेलौरीका ३, कृष्णपुरका ५, शुक्लाफाँटाका ७, लालझाडीका १ र बेदकोटका २ जना छन्।

nawajiwan
Attariya Hospital

यस्तै, प्रहरीको सूचनापछि डडेल्धुराका एक तथा बैतडीका दुई जनाका आफन्तले समेत आफ्ना परिवारजन सम्पर्कविहीन भएको जानकारी गराएका छन्।

प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर रहेका छन्। उनीहरूबाहेक नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक तथा भन्सार र वन कार्यालयमा कार्यरत कर्मचारीसमेत रहेको विवरण प्राप्त भएको छ।

प्रवक्ता रावतले खोजी कार्यमा सहज बनाउन जिल्लामै सम्पर्कविहीन नागरिकको विवरण संकलन भइरहेको बताए। भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएपछि कञ्चनपुरसहित विभिन्न जिल्लाका परिवारमा आफन्तको अवस्थाबारे चिन्ता बढेको छ। सम्बन्धित निकायले खोजी तथा उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ।