
बैतडी:

प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै बैतडीको सिगास गाउँपालिकाले बाढी प्रभावित क्षेत्रका लागि १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
हिजो भदौ १० गते बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, त्रिशूली नदी आसपासका क्षेत्र, गोरखा, चितवनलगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति सिगास गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी लगायत गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले तत्कालका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ र प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ गरी जम्मा १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीद्वारा हस्ताक्षरित आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी पत्रमा विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै आवश्यक सहयोग, सहकार्य र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सक्दो आर्थिक सहयोग गर्न गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनीतिकर्मी तथा आम नागरिकहरूमा हार्दिक अपिल समेत गरेको छ ।
विपद्को पीडामा मल्हम लगाउने सानो प्रयास, मानवीयताको ठूलो सन्देश सिगास गाउँपालिकाको यो पहलले दुःखमा परेकाहरूप्रति स्थानीय सरकारको जिम्मेवारी र सहानुभूतिलाई थप उजागर गरेको छ ।


































