
अत्तरिया : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत वर्षौँदेखि करार, मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले रोजगारी असुरक्षित बनाइएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेका छन्। आन्दोलनको पहिलो चरणअन्तर्गत सुदूरपश्चिम प्रदेशका सबै आङ्गिक शिक्षालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।

सुदूरपश्चिमका शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय (झलारी), सेती प्राविधिक शिक्षालय (दिपायल), टिकापुर पोलिटेक्निक, भीमदत्त पोलिटेक्निक पाटन (बैतडी), मंगलसेन बहुप्राविधिक शिक्षालय (अछाम) तथा शहीद वृषबहादुर सिंह बहुप्राविधिक शिक्षालय (बझाङ) लगायतका शिक्षालयका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो। यस्तै, देशभरका अन्य आङ्गिक शिक्षालयहरूमा पनि ज्ञापनपत्र बुझाइएको कर्मचारी संघर्ष समितिले जनाएको छ।

कर्मचारीहरूको भनाइमा CTEVT मा कार्यरत कुल जनशक्तिमध्ये करिब ८० प्रतिशत कर्मचारी करार, मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत छन्। उनीहरूले वर्षौँदेखि संस्थाको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई निरन्तरता दिँदै दक्ष जनशक्ति उत्पादन गर्ने राष्ट्रिय अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। तर हाल उनीहरूको रोजगारी नै संकटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
संघर्ष समितिका संयोजक अमित पन्तका अनुसार नयाँ सरकार बनेपछि अनुभवको कदर हुने र लामो समयदेखिको विभेद अन्त्य हुने अपेक्षा गरिए पनि अहिले उल्टै जागिर गुम्ने अवस्था सिर्जना भएको छ। उनले राज्यले वर्षौँ सेवा गरेका कर्मचारीलाई कुनै वैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न खोजे त्यसको जिम्मेवारी पनि राज्यले नै लिनुपर्ने बताए।

कर्मचारीहरूले प्रधानमन्त्री, शिक्षामन्त्री, CTEVT का सदस्य–सचिव तथा सम्बन्धित निकायसँग तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूका अनुसार यसअघि कर्मचारीलाई न्याय दिने प्रतिबद्धतासहित दुईपटक प्रतिवेदन तयार भए पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।
आन्दोलनको पहिलो चरणअन्तर्गत सदस्य–सचिव तथा प्रशासन प्रमुखलाई अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको छ। कर्मचारी संघर्ष समितिका अनुसार सदस्य–सचिव अनुज भट्टराईले मागका विषयमा तत्काल मन्त्रालयमा छलफल गर्ने र सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्मचारीहरूले वार्ताबाट समाधान खोज्न सरकारलाई आग्रह गर्दै आफ्ना मागप्रति बेवास्ता गरिए आन्दोलनका थप चरण घोषणा गरिने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, “वर्षौँको योगदानको सम्मान गर्दै रोजगारी सुरक्षित गरिनुपर्छ। दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका श्रमिक सुरक्षित भए मात्र CTEVT को भविष्य पनि सुरक्षित रहन्छ।”




































