
नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर फराकिलो रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले एन्नेङ ग्रुपको अगस्ट २९ सम्मको अनुगमनलाई उद्धृत गर्दै तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको जनाएको हो।

यति ठूलो क्षेत्रमा फैलिएको ताल हाल नियन्त्रणमै रहेको पनि चिनियाँ पक्षले जनाएको छ। पहिरोले नदी थुनिएपछि बनेको उक्त तालबाट तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिम हुन सक्ने भन्दै निरन्तर अनुगमन भइरहेको छ।

यसैबीच, घटनास्थलबाट करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को बाँध ताल–२ समेत पहिचान गरिएको बताइएको छ। भदौ १० गतेको भीषण बाढीपछि चिनियाँ पक्षले सीमावर्ती क्षेत्रमा पानीको बहाव, पहिरो र सम्भावित थप जोखिमबारे निरन्तर अध्ययन तथा निगरानी गरिरहेको जनाएको छ।
































