
अत्तरिया : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गोदावरी चेम्बर अफ कमर्ससहित सुदूरपश्चिमका चेम्बर परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशको समन्वयमा गोदावरी, कैलाली र धनगढी चेम्बर अफ कमर्सलगायत संस्थाको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तारा दत्त जोशीको प्रतिनिधित्वमा सहयोग रकम जम्मा गरिएको जनाइएको छ ।व्यवसायीहरूको संस्था भए पनि व्यापार-व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको गोदावरी चेम्बर अफ कमर्सले विपद्, आपत्कालीन अवस्था तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर प्रभावकारी बनाउँदै आएको अध्यक्ष जोशीले बताए । विपद्को समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको चेम्बरले जनाएको छ ।


चेम्बरले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, निजी क्षेत्र, उद्योगी-व्यवसायी, सामाजिक संघ-संस्था तथा आम नागरिकलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपिलसमेत गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र सामान्य जीवनयापनको कामना गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह, सामाजिक संघ-संस्था, स्वयंसेवक तथा सहयोगी सम्पूर्णप्रति चेम्बर अफ कमर्सले हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गरेको छ । भने उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।































