गौरीगंगा कांग्रेसमा नयाँ नेतृत्वको बहस : नगर सभापतिका लागि हेमन्त ‘बाजे’को नाम चर्चामा

Image
Nisarga Hospital

अत्तरियाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारीसँगै कैलालीको गौरीगंगा नगरपालिकामा पनि आगामी नेतृत्वलाई लिएर राजनीतिक चर्चा तीव्र बन्न थालेको छ। नगरसभापतिको सम्भावित नेतृत्वका रूपमा लामो समयदेखि संगठनमा सक्रिय हेमन्त राज जोशी ‘बाजे’को नाम चर्चामा आउन थालेको छ।

CP Hospital Dhangadhi

चौमालादेखि मसुरियासम्मका १ देखि ११ वटै वडामा संगठन विस्तार र कार्यकर्तासँगको निरन्तर सम्पर्कमा सक्रिय रहँदै आएका जोशीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी २०६० सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।

विद्यार्थी राजनीतिपछि तरुण दल हुँदै नेपाली कांग्रेसको वडा, गाउँ र नगर तहसम्म संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका जोशीले नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिको सचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन्। लामो समयको संगठनात्मक अनुभवलाई उनको सम्भावित नगर नेतृत्वको दाबीको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।

nawajiwan

संगठनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय जोशी युवा पुस्तामाझ परिचित छन्। कार्यकर्तासँग प्रत्यक्ष सम्पर्क, संगठन निर्माणको अनुभव तथा सामाजिक गतिविधिमा निरन्तर सक्रियताका कारण पछिल्लो समय कांग्रेसभित्र उनको नामलाई लिएर विभिन्न कोणबाट चर्चा हुन थालेको हो।

पदभन्दा नेतृत्व क्षमताको बहस

Attariya Hospital

गौरीगंगाको कांग्रेसमा अहिलेको बहस केवल ‘नगर सभापति को बन्छ ?’ भन्ने प्रश्नमा मात्र सीमित छैन। बदलिँदो राजनीतिक परिवेशमा युवाको आवाज सुन्ने, कार्यकर्ताको भावना बुझ्ने, वडा तहसम्म संगठनलाई थप सुदृढ बनाउने र पार्टीमा नयाँ ऊर्जा भर्ने नेतृत्वको आवश्यकता महसुस हुन थालेको कांग्रेसका स्थानीय कार्यकर्ताहरू बताउँछन्।

यही परिवेशमा लामो समयदेखि संगठनमा सक्रिय हेमन्त ‘बाजे’को सम्भावित दाबीलाई युवा पुस्ताको अपेक्षा र कांग्रेसभित्र देखिएको नयाँ नेतृत्वको खोजीसँग जोडेर हेर्न थालिएको छ।

यद्यपि, उनको उम्मेदवारी वा नेतृत्वबारे अन्तिम निर्णय भने पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया, सहमति, राजनीतिक समीकरण र कार्यकर्ताको मतले नै निर्धारण गर्नेछ।

बनबेहडाको माटोबाट संगठनको यात्रामा अघि बढेका ‘बाजे’ अब नगर नेतृत्वको दौडमा कति अगाडि बढ्छन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

तर एउटा कुरा निश्चित देखिन्छ—नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारीसँगै गौरीगंगामा नेतृत्व परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक ऊर्जालाई लिएर बहस सुरु भइसकेको छ।