
भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी प्रालिले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। व्यवसायीहरूको सल्लाह र सहमतिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रालिले जनाएको छ।

विपद्को यस कठिन घडीमा सरकारको उद्धार तथा राहत अभियानमा साथ दिने उद्देश्यले सहयोग गरिएको प्रालिको भनाइ छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र उपचार, बेपत्ताको तत्काल खोज तथा उद्धार र मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।
प्रालि परिवारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेको छ।
सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी प्रालिले विगतका विपद्का समयमा समेत आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको जनाएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रालिले २०४० सालदेखि देशका विभिन्न स्थानमा लामो तथा छोटो दूरीका यात्रुलाई यातायात सेवा प्रदान गर्दै आएको छ। देशलाई संकट पर्दा यात्रु सेवासँगै मानवीय सेवामा समेत योगदान गर्दै आएको प्रालिले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने जनाएको छ।




























