
अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि सोचविचार गरेपछि अर्जेन्टिनाको जर्सीबाट अलग हुने निर्णय गरेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेका हुन्।

मेस्सीले राष्ट्रिय टोलीका लागि आफूले सधैं सबैथोक दिएको उल्लेख गर्दै अब नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिनुपर्ने समय आएको बताएका छन्। अर्जेन्टिनासँग बिताएको करिब २० वर्षलाई स्मरण गर्दै उनले समर्थक, परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति आभार व्यक्त गरेका छन्।

उनले राष्ट्रिय टोलीमा बिताएका क्षणहरू आफ्नो जीवनका अविस्मरणीय सम्झना रहेको बताउँदै अब मैदानभित्रबाट नभई बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्। मेस्सीले आफू शान्ति र गर्वका साथ बिदा हुँदै गरेको उल्लेख गर्दै समर्थकहरूसँग मिलेर सपनाजस्ता क्षणहरू बाँड्न पाएकोमा खुशी व्यक्त गरेका छन्।

मेस्सीले विश्वकप फाइनलको दुई दिनपछि जुलाई २१ मै यो पत्र लेखेको खुलाएका छन्। यो उनको राष्ट्रिय टोलीबाट दोस्रो संन्यास घोषणा हो। यसअघि २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि पनि उनले संन्यास घोषणा गरेका थिए, तर पछि निर्णय फिर्ता लिएका थिए।































