
भदौ १० गते त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका कैलालीका १३ मजदुर भीषण बाढीबाट जोगिएर घर फर्किएका छन्। भजनीका २५ वर्षीय सन्तोष चौधरीसहित उनीहरू सुरुङभित्र सरिया मिलाउने काम गरिरहेका बेला बाढी आएको खबर पाएपछि करिब ४० जनासँगै उच्च भागतर्फ भागेका थिए।

चिनियाँ सहकर्मीले नदीको बहाव अझै बढ्न सक्ने भन्दै उनीहरूलाई माथितिर जान सचेत गराएका थिए। बाढी शान्त भएपछि डेरा फर्किएका उनीहरूले भोलिपल्ट उद्धारको प्रतीक्षा गरे। अन्ततः नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी क्याम्पमा लगिएको थियो।

सेनाले उनीहरूलाई काठमाडौं पठाएपछि भदौ १४ गते घर फर्किन पाँच हजार रुपैयाँ उपलब्ध गराएको थियो। भदौ १५ गते सन्तोषसहित भजनीका पाँच जना घर पुगेपछि परिवार र गाउँमा खुसी छाएको छ। ‘हामी बाँच्न सफल भयौँ, नयाँ जीवन लिएर फर्किएका छौँ,’ सन्तोषले भने।

उनीहरूसँगै काम गर्ने अन्य केही मजदुर भने अझै सम्पर्कविहीन छन्। सुदूरपश्चिमका १ सय ४० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ। प्रहरीका अनुसार ३६ जना सम्पर्कमा आएका छन्।































