किङ्स लाउन्ज क्यासिनोबाट निस्किएपछि भारतीय नागरिक ५ लाख भारुसहित पक्राउ, ‘पछाडि मान्छे लागे’ भन्दै प्रहरी गुहारे

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

धनगढीमा बुधबार राति करिब ९ बजेतिर एक भारतीय नागरिक ठूलो परिमाणको भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। घरेलु कार्यालय अगाडिबाट पक्राउ परेका उनको साथबाट प्रहरीले ५ लाख भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

रिपोर्टिङका क्रममा बसपार्क पछाडिको गल्लीमा पुगेका बेला ती भारतीय नागरिक अटोमा बसेको अवस्थामा भेटिएका थिए। स्थानीय सुशीला नाम बताउने महिलाका अनुसार ती व्यक्तिले आफू आत्तिएको भन्दै ‘मेरो पछाडि मान्छे लागेका छन्, मलाई अप्ठ्यारो छ, प्रहरीकहाँ पुर्‍याइदिनुस्’ भनेर आग्रह गरेका थिए।

nawajiwan

त्यसपछि उनलाई घरेलु चोक अगाडि पुर्‍याइएको र त्यहीँबाट प्रहरीलाई खबर गरिएको उनले बताइन्। केही समयपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

पक्राउ पर्ने भारतीय नागरिकले आफ्नो नाम अमरेन्द्र सिंह भएको बताएका छन्। उनका अनुसार उनी धनगढीस्थित साथी होटलमा रहेको किङ्स लाउन्ज क्यासिनोबाट बुधबार साँझ निस्किएका थिए। क्यासिनोबाट बाहिरिएपछि आफूलाई एक जना व्यक्तिले पछ्याएको उनको भनाइ छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अमरेन्द्र सिंहको साथबाट ५ लाख भारतीय रुपैयाँ भेटिएको पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै विस्तृत विवरण सार्वजनिक हुने उनले जानकारी दिए।

स्रोतका अनुसार अमरेन्द्र सिंह धनगढी आउनुअघि कञ्चनपुरका विभिन्न क्यासिनोमा समेत जाने तथा खेल्ने गरेको र धनगढीका अन्य क्यासिनोमा समेत प्रवेश गरेको दाबी गरिएको छ। उनी मंगलबारदेखि धनगढीस्थित किङ्स लाउन्ज क्यासिनोमा खेल्दै आएको र बुधबार साँझ त्यहाँबाट निस्किएको स्रोतको भनाइ छ।

घटनाले नेपाल–भारत सीमा हुँदै ठूलो परिमाणमा भारतीय रुपैयाँ नेपाल भित्रिने विषयमा समेत प्रश्न उठाएको छ। सीमा क्षेत्रमा भारतीय मुद्रा बोकेर नेपाल प्रवेश गर्ने सम्बन्धमा तोकिएको सीमाभन्दा निकै ठूलो रकम ५ लाख भारु कसरी धनगढी आइपुग्यो भन्ने विषय अब प्रहरी अनुसन्धानको दायरामा परेको छ।

पक्राउ परेका भारतीय नागरिकको साथमा भेटिएको रकमको स्रोत, नेपाल प्रवेश गर्दाको अवस्था, क्यासिनोसँगको कारोबार तथा उनलाई पछ्याउने भनिएको व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।