
धादिङको कृष्णभीर क्षेत्रमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्नुपरेको भन्दै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाइएको छ। ढुवानी लागत बढेको कारण देखाउँदै उद्योगीले नेपाल आयल निगमसँगको सहमतिमा प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा मूल्य वृद्धि गरेका हुन्।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको थियो। नयाँ निर्णयसँगै अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा तिर्नुपर्ने भएको छ।
एलपी ग्यास उद्योग संघले भदौ १८ गते बसेको वार्षिक साधारणसभाको निर्णयअनुसार मूल्य समायोजन गरिएको विज्ञप्तिमार्फत जनाएको छ। कृष्णभीरको पहिरोपछि मुख्य मार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक माध्यमबाट ढुवानी गर्नुपर्ने बाध्यता सिर्जना भएको संघको भनाइ छ।


संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार यसअघि बुलेटमार्फत एकपटकमा करिब १ हजार २ सय ५० सिलिन्डर ग्यास ढुवानी हुने गरेको थियो। तर अहिले तराईमा रिफिल गरी अन्य माध्यमबाट काठमाडौं ल्याउनुपर्दा लागत उल्लेख्य रूपमा बढेको छ।
उनका अनुसार प्रतिसिलिन्डर ढुवानी खर्च करिब १ सय ८० रुपैयाँ पुगे पनि उपभोक्तामाथि तत्कालका लागि १ सय ५ रुपैयाँ ३८ पैसा मात्र थप गरिएको हो।
नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद मूल्य नबढेको स्पष्ट गर्दै मूल्यवृद्धिको मुख्य कारण वैकल्पिक ढुवानीमा बढेको खर्च भएको बताएका छन्। सडक अवरोधका कारण सिर्जित अतिरिक्त लागतको केही भार उपभोक्ताले बेहोर्नुपर्ने अवस्था आएको उद्योगीहरूको दाबी छ।































