सुदूरपश्चिममा निरन्तर वर्षा, प्रहरीको अपिल- अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेपछि जनजीवन प्रभावित बनेको छ। वर्षाले सडक, नदी तथा खोलामा जोखिम बढ्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

प्रहरीले जारी गरेको विशेष सुरक्षा अपिलमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। यात्रा गर्नै परेमा अनिवार्य रूपमा सडकको अवस्था र मौसमबारे जानकारी लिएर मात्र निस्कन प्रहरीको सुझाव छ। वर्षायाममा खाल्डाखुल्डीमा पानी जम्ने र सडक चिप्लो हुने भएकाले सवारीको गति कम गरी अत्यन्तै सावधानीपूर्वक चलाउन पनि भनिएको छ।

त्यस्तै, खोला, नाला र नदी किनारमा नजान, पानीको बहाव बढेको बेला नदी तर्ने प्रयास नगर्न प्रहरीले चेतावनी दिएको छ। बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। पहिरो गएको, बाढी आएको वा सडक अवरुद्ध भएको ठाउँमा जबर्जस्ती यात्रा नगर्न र विद्युतका तार, पोल तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन पनि आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

प्रहरीले कुनै पनि स्थानमा बाढी, पहिरो वा अन्य जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। आपत्कालीन अवस्थामा नेपाल प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

“सावधानी अपनाऔँ, सुरक्षित रहौँ” भन्ने मूल सन्देशसहित प्रदेश प्रहरीले वर्षायामभर सचेत, सुरक्षित र जिम्मेवार रहन सम्पूर्ण नागरिकमा अपिल गरेको छ।