
कञ्चनपुर : देशमा आइपरेको राष्ट्रिय विपद्को कठिन परिस्थितिमा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित कञ्चनजंगा इङ्लिस माध्यमिक विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु. २ लाख २ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरी सहयोग गरेको हो।
विद्यालयका शिक्षक तथा कर्मचारीहरूको एक दिनको तलब, विद्यार्थी नानी–बाबुहरूबाट प्राप्त स्वेच्छिक सहयोग तथा विद्यालय कोषबाट गरिएको सहयोग समेत गरी उक्त रकम जुटाइएको विद्यालयले जनाएको छ।

संकलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएको विद्यालयले जनाएको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिन विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हो। विद्यालयका अध्यक्ष खगेन्द्र प्रसाद ओझाले राष्ट्रिय विपद्को समयमा विद्यालय परिवारले देखाएको एकता, सहकार्य र मानवीय भावनाप्रति खुसी व्यक्त गर्दै विपद् प्रभावित नागरिकको सहयोगका लागि सबैले आ–आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्ने बताएका छन्।

उनले विपद्को समयमा सहयोग अभियानमा साथ दिने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
विद्यालयले समेत विपद्को यस घडीमा सबैलाई एकजुट भई मानवीय सेवामा लाग्न तथा सम्भव भएसम्म पीडित नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।































