
नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको सेमिफाइनलमा नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८ ओभर १ बलमा ६० रनमै अलआउट भयो।

ओमानका जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले समान २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १ सय ४७ रनमा अलआउट भएको थियो। दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ तथा बसिर अहमदले ८८ बलमा ४७ रन बनाए। ओमानका जय विराम ओडेदारा र हसनैन शाहले समान ३ विकेट लिए।


फाइनल प्रवेशसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनोट भएको छ। प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोली इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ।
आजै भएको अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपाल र यूएईबीचको फाइनल शनिबार हुनेछ। प्रिमियर कपको विजेताले सन् २०२७ को एसिया कपमा सहभागिता जनाउने अवसरसमेत पाउनेछ।































