धनगढी–३ मा प्रस्तावित बसपार्कका लागि जग्गा प्राप्तिमा प्रदेश सरकारको सहयोग

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–३ मा प्रस्ताव गरिएको बसपार्क निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रियामा सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ १० गते धनगढी उपमहानगरपालिकाले प्रस्ताव गरेको बसपार्कलाई प्राथमिकताको परियोजनाका रूपमा अघि बढाउँदै आवश्यक जग्गा प्राप्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको निर्णयसँगै बसपार्क निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

बसपार्क निर्माणका लागि लामो समयदेखि जग्गा व्यवस्थापनको विषयमा पहल हुँदै आएकोमा प्रदेश सरकारको पछिल्लो निर्णयले परियोजनालाई अघि बढाउन सहज हुने धनगढी उपमहानगरपालिकाको अपेक्षा छ। जग्गा प्राप्तिको प्रक्रिया अघि बढेपछि बसपार्क निर्माणको थप तयारीसमेत अगाडि बढ्ने जनाइएको छ।

nawajiwan

प्रदेश सरकारको निर्णयप्रति धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आभार व्यक्त गरेका छन्। उनले बसपार्कका लागि आवश्यक जग्गा प्राप्तिमा प्रदेश सरकारले गरेको सहयोगले धनगढीको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

Attariya Hospital

नगर प्रमुख हमालले प्रदेश सरकारको निर्णयका लागि मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्री, प्रमुख सचिव, वन मन्त्रालयका सचिव तथा अन्य सचिव र कर्मचारीलाई धन्यवाद दिएका छन्।

त्यसैगरी, उनले जग्गा प्राप्तिको प्रक्रियामा सहयोग गर्ने डिभिजन वन कार्यालय धनगढी, कैलालीप्रति पनि धनगढी उपमहानगरपालिका र नगरवासीको तर्फबाट आभार व्यक्त गरेका छन्।

बसपार्क निर्माण भएपछि धनगढीमा बढ्दो सवारी चाप व्यवस्थापन, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन तथा यात्रुलाई थप सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।