
मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी युद्धपोतमाथि लगातार दुईपटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जवाफी कारबाही गर्दै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्याङ्कर ध्वस्त पारेको जनाएको छ।

सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चारवटा ट्याङ्कर इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) सँग प्रत्यक्ष सम्बन्धित थिए। अर्को एक ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिकै निशाना बनाइएको बताइएको छ।

अमेरिकी कारबाहीपछि इरानले पनि जवाफी हमला गरेको छ। इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। जोर्डनी सशस्त्र बलका प्रवक्ताका अनुसार तीमध्ये १८ वटा मिसाइललाई हवाई रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। बाँकी दुई मिसाइल भने मानव बस्तीभन्दा टाढा खसेका थिए।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेयता दुवै पक्षबीचको सैन्य तनाव निरन्तर बढिरहेको छ। करिब छ महिना बितिसक्दा पनि तनाव अन्त्य हुन सकेको छैन। पछिल्लो एक सातामा अमेरिका र इरानले एक–अर्काका रणनीतिक तथा सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन्। पछिल्लो घटनाक्रमले मध्यपूर्वमा थप ठूलो सैन्य द्वन्द्वको जोखिम बढाएको छ।































