
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले १०२ रनको शानदार शतकीय इनिङ्स खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। गुल्शन झाले ५२, अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए।
३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका राहुल चोपडाले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए।


नेपालका लागि करण केसीले ३ विकेट लिए। ललित राजवंशीले २ तथा सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
आसिफले ओडीआई करियरको दोस्रो शतक पूरा गरेका हुन्। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।
योसँगै नेपालले दोस्रो पटक एसिया कप खेल्ने अवसर पाएको छ। यसअघि सन् २०२३ को प्रिमियर कप फाइनलमा पनि नेपालले यूएईलाई नै पराजित गरेको थियो। अब नेपालले एसिया कपमा भारत, पाकिस्तान, श्रीलंकालगायतका बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।































