
धनगढी : धनगढी उपमहानगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान बिहीबारदेखि सुरु भएको छ। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका १९ वटै वडामा अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले जानकारी दिए।

उनका अनुसार ३० वर्ष वा सोभन्दा माथिका १ लाख ३ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियान असोज २२ गतेसम्म सञ्चालन हुनेछ। खोप लगाउन उपमहानगरपालिकाभित्र १२४ वटा केन्द्र स्थापना गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख अवस्थीले जेई संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको बताए। जेई संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। संक्रमणपछि ज्वरो, टाउको दुख्ने, शरीर काँप्ने, बेहोस हुने तथा स्नायु प्रणालीमा समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्।


अवस्थीका अनुसार संक्रमणबाट निको भइसकेपछि पनि केही व्यक्तिमा सुस्त मनस्थिति, शरीर काँप्ने तथा बरबराउनेजस्ता समस्या देखिन सक्छन्। धनगढी उपमहानगरपालिकामा हालसम्म जेई संक्रमित चार जना फेला परिसकेका छन्।
उपमहानगरपालिकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेको छ।






























