
नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास अवस्थित छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। पहाडी भू–भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार देशभर आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।




त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
मौसम प्रणालीको प्रभावका कारण केही स्थानमा वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र खुला स्थानमा काम गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र गतिविधि अघि बढाउनुपर्ने देखिएको छ।



































