
भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको आरोप लगाउँदै गरिएको प्रदर्शनका क्रममा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जन्तर–मन्तरमा प्रदर्शन गर्न जाने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा प्रहरीले हालसम्म १ हजार ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ। जन्तर–मन्तर, कनोट प्लेस र मिन्टो ब्रिजलगायत विभिन्न क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेका हुन्।
प्राप्त विवरणअनुसार, दिउँसो करिब १ बजे इम्तियाज अली मार्गस्थित आकाशवाणी भवननजिक प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै अघि बढ्ने प्रयास गरेका थिए। सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि झडप भएको थियो। झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने एक प्रदर्शनकारीको टाउकोमा चोट लागेको बताइएको छ। सुरक्षा घेरा तोडेर अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले लखेट्दै नियन्त्रणमा लिएको थियो।

यसैबीच, सीजेपीका संस्थापक अभिजित दिपकेलाई मुम्बईबाट दिल्ली आइपुगेको विमानभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। उनीसँगै सीजेपीका नेताहरू सौरव दास र आशुतोष राङ्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। चर्चित युट्युबर ध्रुव राठीलाई भने आन्दोलन सुरु हुनुअघि नै पक्राउ गरिएको बताइएको छ।
मतदाता नामावलीमा व्यापक धाँधली भएको आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेको छ। साथै, मतदाता नामावली पुनरावलोकनसँग सम्बन्धित विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै आन्दोलन चर्काइएको जनाइएको छ। प्रदर्शन र पक्राउका घटनाले राजधानी दिल्लीको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।































