
प्रधानमन्त्री वालेन्द्र साहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाव, अनुचित प्रभाव र व्यक्तिगत स्वार्थमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन्। उनले संविधान र प्रचलित कानुनको पालना गर्दै नागरिकको सुरक्षा तथा कानुनी शासन कायम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले झन्डै १६ महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी निरीक्षकहरूलाई बधाई दिएका थिए। उनले प्रहरी सेवामा प्रवेशसँगै पेशागत मर्यादा, अनुशासन, इमानदारी र नैतिकतालाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
बदलिँदो समयसँगै अपराधको स्वरूप र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै अनुसन्धानलाई वैज्ञानिक, निष्पक्ष र प्रमाणमुखी बनाउनुपर्ने प्रधानमन्त्री साहको भनाइ थियो। उनले अपराध अनुसन्धान तथा नियन्त्रणका लागि सूचना प्रविधिको उचित प्रयोग गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाव वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु।’
प्रधानमन्त्री साहले नागरिकको जीउधनको रक्षा गर्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै त्यसमा कुनै सम्झौता नगर्न आग्रह गरे। साथै, प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
प्रहरी सेवामा व्यावसायिकता, जवाफदेहिता र प्रविधिमैत्री कार्यशैलीलाई प्राथमिकता दिँदै नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने सन्देश प्रधानमन्त्री साहले नयाँ प्रहरी अधिकृतहरूलाई दिएका छन्।
































