
कपिलवस्तु: कपिलवस्तु जिल्लाको गोरुसिङ्गेस्थित अर्घाखाँची चोकमा सार्वजनिक यातायातका यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। विभिन्न स्थानबाट लामो दूरीको यात्रा गरेर आउने यात्रुलाई गन्तव्यसम्म पुग्न बस परिवर्तन गर्नुपर्ने अवस्थामा यातायात व्यवसायीका प्रतिनिधिहरूले यात्रु तथा उनीहरूका सामान तानातान गर्ने गरेको आरोप लागेको छ।

उक्त क्षेत्रमा बिहान ४ बजेदेखि यात्रुवाहक बस तथा मिनिबस सञ्चालन हुँदै आएका छन्। काठमाडौँ, नारायणघाट, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी र सुर्खेतलगायत क्षेत्रबाट आउने यात्रुहरू गोरुसिङ्गेमा ओर्लिएर अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा जान अर्को बस वा मिनिबस चढ्नुपर्ने हुन्छ। यही अवस्थाको फाइदा उठाउँदै विभिन्न यातायात समितिमा आबद्ध युवाहरूले यात्रुका सामान आफूखुसी बोकेर आफू आबद्ध व्यवसायीका गाडीमा राखिदिने र यात्रुलाई समेत त्यही गाडीमा चढ्न बाध्य पार्ने गरेको आरोप छ।
अर्घाखाँची जिल्लाका एक नेताले नाम नखुलाउने सर्तमा यस्तो गतिविधिले यात्रुलाई अनावश्यक दुःख दिने गरेको बताए। धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा रहेको अर्घाखाँची पुग्ने यात्रुले बाटोमै सास्ती खेप्नुपर्दा जिल्लाको छविमै असर पर्ने उनको भनाइ छ। यातायात व्यवसायी प्रालि तथा प्रहरी प्रशासनले यस विषयमा पर्याप्त चासो नदिएको भन्दै उनले दुःखसमेत व्यक्त गरे।




यस्तै, यात्रु गोविन्द भुसालले पनि गोरुसिङ्गेस्थित अर्घाखाँची चोकमा बस परिवर्तन गर्ने क्रममा यात्रुका सामान तानातान हुने गरेको गुनासो गरे। वर्षमा एकपटक घर फर्किने यात्रुले समेत बाटोमा यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ।
“हामी वर्षमा एकपटक घर आउँछौँ। बाटोमा अनेक सास्ती खेप्नुपर्छ। सामान तानातान गर्दा कुनै सामान एउटा बसमा र कुनै अर्को मिनिबसमा पुग्ने अवस्था आउँछ। हाम्रो सामानसमेत छुट्ने जोखिम हुन्छ। हामीले चाहेर पनि आफूअनुकूलको बस वा मिनिबस प्रयोग गर्न पाइरहेका छैनौँ,” भुसालले भने।
उनले यात्रुलाई आफ्नो इच्छाअनुसारको सवारीसाधन रोज्न पाउने वातावरण बनाउन तथा यात्रुका सामान जबर्जस्ती ओसारपसार गर्ने गतिविधि रोक्न प्रहरी प्रशासनले कडाइ गर्नुपर्ने माग गरे।
यस विषयमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापासँग बुझ्दा उनले यात्रुलाई कुनै पनि यातायात व्यवसायीका प्रतिनिधिले दुःख दिन नहुने बताए।
गोरुसिङ्गे–अर्घाखाँची चोकमा यात्रुलाई सास्ती दिने गतिविधि भइरहेको पाइए तत्काल कारबाही गरिने उनको भनाइ छ। यस विषयमा सम्बन्धित जिल्लाका ट्राफिक प्रमुखलाई जानकारी गराइसकेको उल्लेख गर्दै एसपी थापाले कानुनविपरीतका गतिविधि गरेको पाइए कारबाही प्रक्रिया अघि बढाइने बताए।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले पनि सो क्षेत्रमा बिहानैदेखि ट्राफिक प्रहरी परिचालन गरिने बताएका छन्। यात्रुलाई दुःख दिने तथा जबर्जस्ती सवारीसाधन चढ्न बाध्य पार्ने गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे।
लामो दूरीको यात्रा गरेर गन्तव्यतर्फ जाने यात्रुले बस परिवर्तन गर्ने स्थानमै सास्ती खेप्नुपर्नु सार्वजनिक यातायात सेवामाथिकै प्रश्न हो। यात्रुलाई आफूले चाहेको सवारीसाधन छनोट गर्ने वातावरण उपलब्ध गराउनु र उनीहरूका सामान सुरक्षित राख्नु यातायात सेवा प्रदायकको जिम्मेवारी हो। त्यसैले सम्बन्धित ट्राफिक प्रहरी, स्थानीय प्रहरी प्रशासन तथा यातायात व्यवसायीले गोरुसिङ्गे–अर्घाखाँची चोकमा हुने भनिएका यस्ता गतिविधिको प्रभावकारी अनुगमन गरी यात्रुलाई दुःख दिने कार्य रोक्न आवश्यक छ।
प्रहरी प्रशासनले निगरानी बढाउने र कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै अब यात्रुले भोग्दै आएको भनिएको सास्ती अन्त्य हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ। यात्रुले सहज रूपमा सवारीसाधन छनोट गर्न पाउने, सामान सुरक्षित राख्न सक्ने र सम्मानपूर्वक यात्रा गर्न पाउने अवस्था सुनिश्चित गर्नु सम्बन्धित निकायको प्रमुख दायित्व हो।



































