
अत्तरिया : कैलालीको अत्तरियामा नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिको आयोजनामा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नगरसभापति रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न वडाका पदाधिकारी, पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई चाडपर्वको शुभकामना व्यक्त गर्नुका साथै गोदावरी नगरपालिका र क्षेत्र नम्बर ४ मा पार्टीलाई आगामी दिनमा कसरी थप सशक्त र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्ना धारणा तथा सुझाव राखेका थिए।




सहभागीहरूले पार्टी संगठनलाई बलियो बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी एकता र सहकार्य बढाउने तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।
चाडपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रमले पार्टीभित्र आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्नुका साथै संगठनलाई आगामी दिनमा थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
करिब १६० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सचिव बमबहादुर बोगटीले गरेका थिए।



































