गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको १०० दिनमा ९० सिट स्वीकृत, ६२२ शय्याको शिक्षण अस्पताल सञ्चालनमा

Image
Nisarga Hospital

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ पदाधिकारी नियुक्तिपछिको १०० दिनमा संस्थागत विकास, चिकित्सा शिक्षा, अस्पताल सेवा र जनशक्ति व्यवस्थापनका क्षेत्रमा भएका प्रगति सार्वजनिक गरेको छ। बुधबार आयोजित कार्यक्रममा उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दको नेतृत्वमा भएका काम तथा आगामी योजनाबारे जानकारी दिइएको हो।

CP Hospital Dhangadhi

विश्वविद्यालयका अनुसार चिकित्सा शिक्षा आयोगबाट चार शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुल ९० सिट स्वीकृत भएका छन्। जसमा एमबीबीएसतर्फ ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी एमएलटीमा १० र ब्याचलर अफ अप्टोमेट्रीमा १० सिट रहेका छन्। आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच सुनिश्चित गर्न ७५ प्रतिशत छात्रवृत्तिका लागि ७ करोड ३९ लाख ३९ हजार रुपैयाँ स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ।

उपकुलपति डा. जोशीले विभिन्न चुनौतीका बाबजुद नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा योजनाबद्ध रूपमा काम अघि बढाइएको बताए। सुदूरपश्चिमका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ र विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा हाल ६२२ शय्या व्यवस्थापन गरिएको छ। अस्पतालमा जनरल मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, न्युरोलोजी, दन्तरोगलगायतका विभाग सञ्चालनमा छन्। आकस्मिक सेवा, आईसीयू, एनआईसीयू, पीआईसीयू, एचडीयू, शल्यक्रिया सेवा, प्याथोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी तथा फार्मेसी सेवा पनि उपलब्ध रहेको विवरणमा उल्लेख छ। रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान शय्या अस्पतालका विभिन्न वार्ड, आईसीयू र आकस्मिक कक्षमा व्यवस्थापन गरिएको छ।

संस्थागत विकासतर्फ विश्वविद्यालयले शिक्षक तथा कर्मचारी, आर्थिक कार्यविधि, खरिद, पारिश्रमिक र अन्य प्रशासनिक नियमावली पुनरावलोकन गरेको छ। संगठनात्मक संरचना तयार गर्नुका साथै विश्वविद्यालयको आधिकारिक झण्डा र छापसमेत निर्माण गरिएको जनाइएको छ।

जनशक्ति व्यवस्थापनतर्फ ५४४ स्वीकृत दरबन्दीमध्ये हाल ४०० जना कार्यरत छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीसहित १५१ जनाको छनोट प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। शैक्षिक प्रयोगशाला, आवश्यक उपकरण र पठनपाठनका पूर्वाधार तयारीलाई पनि प्राथमिकता दिइएको छ।

आगामी योजनाअन्तर्गत क्याथ ल्याब, बर्न युनिट, ट्रमा सेन्टर, सिटी स्क्यान, एमआरआई, डायलाइसिस र ब्लड बैंक स्थापना तथा युरोलोजी र क्यान्सर उपचार सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। विश्वविद्यालयले यी योजना कार्यान्वयन गर्दै गेटालाई चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

Dhnagadhi & Krishanapur