
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा शीर्ष स्थानमा रहेका टोलीदेखि अंक तालिकामा स्थान सुधारको खोजीमा रहेका टोलीसम्म प्रतिस्पर्धामा उत्रिनेछन्।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलेको लुम्बिनी दुई जित र एक बराबरीसहित पाँच अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। अपराजित रहेको लुम्बिनी आजको खेल जित्दै आफ्नो अग्रता कायम राख्ने लक्ष्यमा हुनेछ।
यता जनकपुर बोल्ट्सले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर पनि आज जित निकाल्दै तेस्रो जित दर्ता गर्ने योजनामा मैदान उत्रिनेछ।




त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोर्दै दुई अंक जोडेको छ। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौंलाई आज जित निकाल्दै आफ्नो स्थिति सुधार्ने अवसर हुनेछ।
चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको विराटनगर भने तालिकाको दोस्रो स्थानमा छ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रिने विराटनगर पाँचौँ खेलमा तेस्रो जित निकाल्दै शीर्ष स्थानतर्फ अघि बढ्ने लक्ष्यमा हुनेछ।
आजका दुवै खेलले एनपीएलको अंक तालिकामा टोलीहरूको स्थान परिवर्तन गर्न सक्ने भएकाले क्रिकेटप्रेमीका लागि प्रतिस्पर्धा चासोपूर्ण रहनेछ।


































