
डोटीको जोरायल गाउँपालिकाले स्थानीय तहबाट प्रदान हुने सार्वजनिक सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउने र नीति निर्माणमा पछाडि पारिएका समुदायको सहभागिता बढाउने उद्देश्यसहित ६ बुँदे सार्वजनिक प्रतिबद्धता गरेको छ।

बिहीबार गाउँपालिकामा आयोजित लैङ्गिक मैत्री नीति निर्माण तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले विभिन्न सुधारका योजनासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको हो।
प्रतिबद्धताअनुसार महिला, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, आयआर्जन, रोजगारी र जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न कम्तीमा पुँजीगत बजेटको ३५ प्रतिशत विनियोजन गरिनेछ।




त्यस्तै, सार्वजनिक सेवालाई अपाङ्गमैत्री र विभेदरहित बनाउने, नागरिक बडापत्र अद्यावधिक गर्ने तथा नागरिक सहायता डेस्क स्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
लैङ्गिक हिंसा तथा विभेदमा परेकाहरूका लागि उद्धार, राहत, सुरक्षा, पुनर्स्थापना र परामर्श सेवाको व्यवस्था गर्ने पनि गाउँपालिकाले जनाएको छ।
नीति निर्माण तथा विकास योजनामा महिला र पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र नागरिक प्रतिवेदनमार्फत सेवा प्रवाहलाई पारदर्शी तथा जवाफदेही बनाउने प्रतिबद्धतासमेत गरिएको छ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता नन्दराम भट्ट, प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकसहित विभिन्न शाखाका प्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। युरोपेली युनियन र यूएन वुमेनको सहयोगमा सञ्चालित कार्यक्रम गाउँपालिका, प्रो पब्लिक र निड्स नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्।


































