
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई बिहानै पूजा आराधना गरी मीठा परिकार तथा खानेकुरा खुवाएर यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रीय विधिअनुसार आज काग तिहार मनाउन लागिएको हो।
धार्मिक मान्यताअनुसार यमराजले कागमार्फत संसारको खबर थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने गरिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने विश्वासका साथ आज मिठा खानेकुरा दिएर खुसी पार्ने चलन छ। घरआँगनमा काग कराए शुभ खबर आउने जनविश्वाससमेत रहेको छ।




काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।
यसैबीच, तिहारको सुरुवातसँगै शुक्रबार साँझदेखि यमदीपदान पनि सुरु भएको छ। परिवारका सदस्यलाई यमयातनाबाट मुक्ति मिलोस् भन्ने कामनासहित दक्षिण फर्काएर दीपदान गर्ने धार्मिक परम्परा छ। यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबारदेखि सुरु भएको हो। शुक्रबार नै धनतेरस पर्व मनाउँदै सुनचाँदीका गरगहना तथा तामाका भाँडाकुँडा किन्ने परम्परासमेत निर्वाह गरिएको छ।



































