
नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच शनिबार राति ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गराउँदै डा. केसीको अनशन तोडाएका हुन्।
अनशन अन्त्यपछि मन्त्री पोखरेलले यो डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे। उनले सहमतिमा उल्लेख भएका विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए।




सरकार र डा. केसीबीच भएको ६ बुँदे सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
लामो समयदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै सत्याग्रह गर्दै आएका डा. केसीको अनशन अन्त्य भएसँगै सहमतिमा समेटिएका विषयको कार्यान्वयनतर्फ अब सबैको ध्यान केन्द्रित भएको छ।





































