
डडेल्धुराः आधुनिक जीवनशैली र प्रविधिको प्रभावसँगै तिहार मनाउने परम्परागत शैली फेरिँदै गएको छ। कुनै समय माटाका दियो बालेर घरआँगन उज्यालो बनाउने र मौलिक भाकामा देउसी–भैलो खेल्ने चलन अहिले विस्तारै हराउँदै गएको छ।

तीस वर्षअघिको तिहार सम्झिँदा डडेल्धुराको अमरगढी नगरपालिका–५ का गणेश साउँदलाई घरको मूलढोकादेखि तुलसीको मोठ र गोठसम्म माटाका दियो बालिएको दृश्य याद आउँछ। अहिले ती ठाउँ झिलिमिली विद्युतीय बत्तीले सजिन थालेका छन्। आधुनिकताले तिहार आकर्षक बने पनि पुरानो सांस्कृतिक रौनक हराउँदै गएको उनको चिन्ता छ।
अमरगढी–३ की कमला पाण्डे पनि पहिले साथीभाइ जम्मा भएर गाउँघरमा देउसी–भैलो खेल्ने, अन्न र दक्षिणा संकलन गरी सामूहिक रमाइलो गर्ने दिन सम्झिन्छिन्। तर, रोजगारी र अध्ययनका लागि युवाहरू गाउँ छाड्न थालेपछि यस्तो परम्परा कमजोर बन्दै गएको उनको अनुभव छ।




स्थानीय धनीराम गिरीका अनुसार मौलिक लोकभाका, परम्परागत बाजागाजा र आशिषमूलक गीतको स्थान अहिले डिजे र आधुनिक संगीतले लिन थालेको छ।
संस्कृतिका जानकार मुरलीधर अवस्थी समयसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक संस्कृति जोगाउनुपर्ने बताउँछन्। नयाँ पुस्तालाई पुराना भाका र देउसी–भैलोको महत्व सिकाउँदै परम्पराको संरक्षण गर्नुपर्ने उनको सुझाव छ।



































