
जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरण गर्न स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्। राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

कार्यकारी सचिव स्टिलले जलवायु कार्यलाई आर्थिक स्थायित्व, राष्ट्रिय सुरक्षा र जनजीवनसँग जोड्दै स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय प्रयासका कारण विश्व तापक्रम वृद्धिको अनुमान चार डिग्रीभन्दा बढीबाट घटेर करिब २.६ डिग्रीमा झरेको उनको भनाइ थियो।
कोप–३१ का अध्यक्ष कुरुमले सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गर्दै नेपालमा बाढीपहिरोलगायतका घटनाले सङ्कटको गम्भीरता देखाएको बताए। उनले जलवायु लक्ष्यलाई बजेट र लगानीसँग जोड्नुपर्नेमा जोड दिए।




त्यस्तै, वार्ता अध्यक्ष बोवेनले गत वर्ष स्वच्छ ऊर्जामा २.२ ट्रिलियन अमेरिकी डलर लगानी भएको जानकारी दिँदै जलवायु वित्तलाई सरल, छिटो र न्यायोचित बनाउनुपर्ने बताए। तीनै अधिकारीले विकासशील तथा जोखिममा रहेका राष्ट्रलाई वित्तीय सहयोग बढाउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्।



































