लिखित सहमतिमै साधारण सभा र अधिवेशन गर्ने निर्णय, तर भोलि साधारण सभा मात्रै ! सेती–महाकाली ट्रक संघमा सहमतिमाथि नै प्रश्न, व्यवसायी असन्तुष्ट

Image
Nisarga Hospital

धनगढी: सेती–महाकाली ट्रक यातायात व्यवसायी संघमा साधारण सभा र अधिवेशनको विषयलाई लिएर पुनः विवाद चर्किएको छ। साधारण सभा र अधिवेशन दुवै गर्ने विषयमा लिखित सहमति भएको कागजात सार्वजनिक भइसके पनि संघले भोलि साधारण सभा मात्रै गर्ने तयारी गरेपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्।

CP Hospital Dhangadhi

व्यवसायीहरूका अनुसार संघभित्र देखिएका विभिन्न समस्या र असन्तुष्टिलाई सम्बोधन गर्न साधारण सभा मात्रै नभई अधिवेशनसमेत गर्ने सहमति लिखित रूपमा गरिएको थियो। तर, अहिले संघले अधिवेशनको विषयलाई कार्यसूचीमा नराखी साधारण सभा मात्रै गर्ने तयारी गरेको उनीहरूको भनाइ छ।

संघको पत्रमा १३औँ वार्षिक साधारण सभाको कार्यक्रम यही कात्तिक २७ र २८ गते बिहान ९ बजे संघको प्रधान कार्यालय धनगढीमा आयोजना हुने उल्लेख छ। तर, व्यवसायीहरूले लिखित सहमतिअनुसार अधिवेशनको विषयसमेत अघि बढ्नुपर्ने माग गरिरहेका छन्।

यस विषयमा संघका अध्यक्ष मोहनसिंह साउँदसँग कुरा गर्दा उनले साधारण सभा र अधिवेशन दुवै गर्ने किसिमको निर्णय वा सहमति आफूहरूले नगरेको बताए। उनका अनुसार भोलिका लागि साधारण सभा मात्रै तय गरिएको छ। साधारण सभामा व्यवसायीहरूले अधिवेशनको माग गरे त्यसअनुसार तयारी अघि बढाइने र व्यवसायीहरूको मागअनुसार नै अगाडि बढ्ने अध्यक्ष साउँदको भनाइ छ।

तर, व्यवसायीहरूले लिखित कागजातमै सहमति भएको विषयलाई बेवास्ता गर्न नमिल्ने बताएका छन्। लिखित सहमतिमा उल्लेख भएको विषय कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्न अहिले संघभित्र उठेको छ।

अब भोलिको साधारण सभाले व्यवसायीहरूको असन्तुष्टि सम्बोधन गर्छ वा लिखित सहमतिअनुसार अधिवेशनको बाटो खोल्छ भन्ने चासो बढेको छ। लिखित सहमति कार्यान्वयन गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफ संघले अब साधारण सभाबाटै दिनुपर्ने देखिन्छ।