
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका छन्। हेटौँडा अस्पतालमा पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि सर्लाहीको सन्दकपुरका १३ जनाको शव आफन्तले बुझेका हुन्। शवलाई तीन वटा शववाहनमार्फत सर्लाही पठाइएको अस्पतालले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका माइक्रोबस चालकको शव भने परिवारले यसअघि नै बुझेर लगिसकेका थिए।
मृतकका आफन्तले सङ्घीय सरकारसँग मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, दुर्घटना अध्ययन तथा छानबिन समिति र मृतकका परिवार तथा आफन्तबीच भएको छलफलपछि शव बुझ्ने सहमति भएको हो।
छलफलमा दुर्घटनाबारे अध्ययन समितिको प्रतिवेदनमा पीडित पक्षका मागसमेत समेट्ने, कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारसँग पहल गर्ने र थप राहतका लागि जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ।
काठमाडौँबाट सर्लाहीका लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट खसेर दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए। तीमध्ये तीन जनाको चितवन र ललितपुरमा उपचार भइरहेको छ भने तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।





























