
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, आज राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र यातायातमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।





























