
मधेसको प्राचीन मिथिला क्षेत्रमा चारदिने छठ पर्वको रौनक छाएको छ। लोकआस्थाको महापर्वका रूपमा परिचित छठको दोस्रो दिन आज व्रतालुहरू खरना विधिको तयारीमा जुटेका छन्। पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय विधि पूरा गर्दै व्रतालुले व्रत सङ्कल्प गरेका थिए।

आज पञ्चमी तिथिमा व्रतालुहरू बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्नेछन्। साँझ चन्द्रदर्शनपछि माटोको नयाँ चुलो र भाँडामा सख्खर, दूध तथा चामलबाट तयार पारिएको खीर छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नेछन्। यसै विधिलाई खरना भनिन्छ।
पर्वको तेस्रो दिन भोलि षष्ठी तिथिमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारका घाटमा पुग्नेछन्। त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने परम्परा छ। यसलाई सझुका अरख भनिन्छ।
त्यसैगरी, अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ। यसलाई भोरका अरख वा पारन भनिन्छ।
छठमा ठेकुवा, भुसुवा, नरिवल र विभिन्न फलफूल प्रसादका रूपमा चढाइन्छ। पछिल्लो समय यो पर्व मधेसी समुदायमा मात्र सीमित नरही पहाडी समुदायसहित विभिन्न जाति र धर्मावलम्बीको साझा आस्थाको पर्व बन्दै गएको छ।






























