
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज शनिबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरका लागि आजको खेल निकै महत्वपूर्ण छ। विराटनगर जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ। यता लुम्बिनी भने आफ्नो उत्कृष्ट लय कायम राख्दै अंकतालिकाको शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ।
लुम्बिनीले हालसम्म खेलेका ६ खेलमध्ये ४ मा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ। ९ अंकसहित टोली तालिकाको शीर्ष स्थानमा छ। उसको नेट रनरेट १.४२१ रहेको छ।
ब्याटिङतर्फ डि’आर्सी सर्ट, रोहित पौडेल, नीरोजन डिकवेला र दिलीप नाथ लुम्बिनीका प्रमुख खेलाडी हुन्। सर्टले पछिल्लो खेलमा कर्णालीविरुद्ध ३४ बलमा ४६ रन बनाएका थिए। बलिङमा शेर मल्लले ९ विकेट लिइसकेका छन्।
यता विराटनगरले ६ खेलमा ३ जित र ३ हार बेहोर्दै ६ अंक जोडेको छ। त्यसैले आजको खेलमा दुवै टोलीका लागि जित महत्वपूर्ण हुनेछ। लुम्बिनीको निरन्तरता र विराटनगरको प्लेअफ यात्राले खेललाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।






























