
दसैँतिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धार्मिक जात्रा तथा मेलाको चहलपहल बढेको छ। कात्तिक शुक्लपक्षदेखि बैतडी, डडेल्धुरा र डोटीका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा परम्परागत मेला आयोजना हुन थालेका हुन्। यी मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतका सीमावर्ती क्षेत्रबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा आगामी मंसिर ७ र ८ गते परम्परागत देहिजात आयोजना हुँदैछ। जात्रामा परम्पराअनुसार राँगाको बलि दिने चलन छ। डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा मंसिर ८ गते उग्रतारा मेला लाग्नेछ। त्यस्तै, अजयमेरु गाउँपालिकास्थित जगन्नाथ धाममा मंसिर १० गते खोलेइ जात आयोजना हुँदैछ।
यसैगरी, डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा मंसिर ४ गते बडाल जाँत लाग्नेछ। चौलो संस्कृति, परम्परागत बाजागाजा र भाला, गुर्जा, खुकुरी तथा तरबारसहित खेलिने चौलो यस जात्राको मुख्य आकर्षण हो।
उता डोटीको बडिकेदारधाममा मंसिर ५ र ६ गते धार्मिक मेला आयोजना हुँदैछ। ६ गते विशेष केदार पूजनसमेत गरिनेछ। यस वर्ष मेलामा करिब ५० हजार दर्शनार्थी पुग्ने अनुमान गरिएको छ।
यी जात्रा तथा मेलाले धार्मिक आस्थासँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्। साथै, स्थानीय व्यापार, पर्यटन प्रवर्द्धन र गाउँ फर्किने वातावरण निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।






























