
सूर्यदेवको उपासना, आराधना र पूजाआजासहित मनाइने चारदिने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको पर्वको आज षष्ठी तिथिमा देशभरका नदी, पोखरी तथा जलाशय किनारमा श्रद्धालुहरूको भीड लाग्नेछ ।

छठ पर्वमा व्रतालुहरूले कठोर निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई फलफूल, प्रसाद तथा विभिन्न पूजासामग्रीसहित अर्घ्य दिने परम्परा छ । त्यसअघि चतुर्थीका दिन स्नान गरी एक छाक खाने र पञ्चमीका दिन सखरको खीरसहित खरना पूजा गर्ने विधि रहेको छ ।
धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन पाण्डवहरूको अज्ञातवास र सूर्यदेवको आराधनासँग जोडिएको छ । सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ । सूर्यदेवको पूजा गर्दा दुःख, दरिद्रता तथा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने र परिवारको सुख, समृद्धि एवं सन्तानको कल्याण हुने जनविश्वास छ ।
पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्वले २०४६ सालपछि राष्ट्रिय स्वरूप ग्रहण गरेको हो । पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत यसको लोकप्रियता बढ्दै गएको छ ।
काठमाडौंका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, नागपोखरी तथा बागमती, नख्खु र विष्णुमती नदी किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ ।
आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।






























